सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन व्यवसायीको माग
सुनचाँदी व्यवसायी महासङ्घले प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र नीतिगत व्यवस्था गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासङ्घले राखेका माग सम्बोधन गर्न पहल गर्ने बताउनुभयो । उहाँले व्यवसायीमाथि परेका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले व्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुनचाँदीको कारोबारसम्बन्धी ऐन नहुँदा सुनचाँदी व्यवसाय सञ्चालनमा समस्या आएको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या शीघ्र समाधान हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्री देउवासँगको भेटका क्रममा महासङ्घका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराउनुभएको थियो ।








