बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

बौद्ध शिक्षाबिनाको जीवन अपूर्ण



शुक्रबार ८ , श्रावण २०७८

‘हे भन्ते, तिमी पनि मजस्तै बुद्ध हौ । तर तिमी निदाइरहेका छौ म पनि तिमीजस्तै मान्छे हुँ तर म ब्युँझिएको छु ।’ गौतम बुद्धले आफ्ना भिक्षुलाई दिएको सन्देशको एक अंश हो यो । प्रत्येक मान्छे बुद्धको स्वरूप हो । बाल्यकालमा केही बदमास, चञ्चले र अरूलाई दुःख दिने स्वभावका योन्तेन ग्याम्छो कालान्तरमा ३६० डिग्रीको कोणमा परिवर्तन भए । अहिले उनी शान्त स्वभावमा रूपान्तरित भएका छन् । बाल्यकालमा बौद्ध दर्शनमा विद्यावारिधि (खेन्पो) गर्न चाहने उनको सपना आज पूरा भएको छ ।

साधारण जीवन, उच्च सोच यही सोचका साथ जीवनका तीसौं सिँढी पार गर्दासम्म उनी बुद्धले देखाएको पथमा जीवनको रथ हाँकिरहेका छन् । सिन्धुपाल्चोक जिल्लाको किउल–८ मा कर्मा लामा र काच्र्युङ लामाको कोखबाट कान्छो पुत्रको रूपमा सन् १९८४ सालमा जन्मेका हुन् योन्तेन । उनको पिता नै गुम्बामा प्रमुख लामाको रूपमा कार्यरत थिए । अहिले पनि सोही पदमै छन् । बाल्यकालको शिक्षा ज्योति निमाविमा भयो । उनको चञ्चले स्वभाव भएका कारण सो विद्यालय छोडाइयो र आइडल बोर्डिङ स्कुलमा नर्सरीको विद्यार्थी बनाइयो ।

लामा समुदायमा जन्मेका कारण उनको स्कुले शिक्षामा पूर्णविराम लाग्यो । उनी बने गुम्बाका विद्यार्थी । गुम्बा छिरेपछि योन्तेन ग्याम्छोको नाम रूपान्तरित भयो । जुन नाम गुरुले जुराइदिनुभएको नाम थियो । उनी गुम्बाको विद्यार्थी बन्दा नौ वर्षका मात्रै थिए । गुम्बामा प्रवेश गरेको औंलामा भाँचेर ल्याउँदा झन्डै दुई दशक समय पार भइसकेको छ । कर्म लेकखे लिङ संस्थाअन्तर्गतको कम्यु विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययन गरिररहेका उनी सुनाउँछन्, ‘सायद पूर्वजन्मको प्रभावले होला, सबैभन्दा ठूलो पहाड बनेर आर्थिक समस्या उभिन्थ्यो । किताब किन्न पैसा नहुँदा निकै दुख भोगेँ । त्यसलाई छिचोल्दै गएँ ।’

अध्ययनकै क्रममा बौद्ध दर्शनशास्त्रका ठूला ठूला ठेली निलेका छन् उनले । ‘बौद्ध दर्शनका ठेलीहरू निल्नु मात्रै होइन व्यवहारमै उर्तानुचाहिँ मुख्य हुन्थ्यो,’ पहेंलो गुम्बाको आफ्नै कक्षमा उनले सुनाए । साथ दिइरहेका थिए ङवाङ ग्याल्छेनले । ग्याल्छेन सहपाठी हुन् उनका । स्वयम्भूपारि रहेको यो गुम्बामा झन्डै साढे तीन सय विद्यार्थीले उनीजस्तै खेन्पो र रिन्पोछे बन्ने सपना देखिरहेका छन् । भिक्षुको शील गुरुबाट प्राप्त गरेपश्चात् महापञ्चसूत्र प्राप्त भयो । त्यसपछि सिद्धिचर्या प्राप्त भयो । त्यसपश्चात् दोर्जेलोपेन (आचार्य) को काम हुन्छ । सैद्धान्तिक रूपमा भन्ने हो भने उनले ठूलो आचार्यको उपाधि पाइसकेका छन् । व्यावहारिक रूपमा भन्ने हो भने सिद्धिचर्यासम्मको उपाधि पाइसकेका छन् ।

उनको सामाजिक उचाइ दिनदिनै चुलिँदो छ । अबको दुई वर्षपछि नै उनी खेन्पो बन्नेछन्, उनको आफ्नै मेहनत र सक्रियताबाट । गुम्बाको शिक्षा र विद्यालयको शिक्षालाइ कहिलेकाहीं तौलन्छन् उनी । आकाश जमिनको अन्तर देख्छन् । विद्यालयमा अध्ययन गर्नेहरूलाई बाहिरी सुख थाहा छ तर बौद्ध दर्शन र गुम्बामा भित्री सुखको खोज गर्न सिकाइन्छ । त्यो क्षणिक होइन दीर्घकालीन सुख हो । विद्यालयको शिक्षाले मानिसलाई मेकानिजमतिर लगिरहेको छ र गुम्बाको शिक्षाले मानिसलाई पूर्ण मानिस बनाउन खोजिरहेको छ । आफू कसरी सुशासित र भद्र जीवन जिउने ‘आर्ट अफ लिभिङ’को कुरा छ ।

‘शील, समाधि र प्रज्ञा (ज्ञान) तीन चीज हुनुपर्दछ । मस्तिष्कलाई शान्ति चाहिन्छ त्यो शान्ति गुम्बाको शिक्षामा पाइन्छ,’ उनी भन्छन् ।

मुहारमा चमक छ उनको ज्योति नाचिरहेछ । यस्तो लाग्छ यो लोकका यी सुखी मनुवा हुन । जसका मनमा कुनै लोभ, लालच, इष्र्या, घृणा, द्वेष छैन । ‘मभित्रको सुखको वर्णन कसरी गरौं ? उनको दर्शन निस्कियो, लाटोले गुलियो चक्लेट खाएको वर्णन थोरै गर्छ र ?’ जसले भोगेको हुन्छ त्यो देखाउन सक्दैन । मैले भोगेको सुख पनि उस्तै हो देखाउन सक्दिनँ ।

उनी थप भन्दै गए, ‘म भन्ने शब्दकै कारण मान्छेले दुःख पाइरहेका छन् । मान्छेहरू स्वार्थी भइरहेका छन् । अप्प दिपो भव, अत न नाथो नै नाथो परिथो । यही हो बुद्धको दर्शन तिमी आफैं जल्नुपर्दछ अरूलाई उज्यालो दिने हो भने । आफ्नो उद्धार गर्नेवाला, आफ्नो नाथ तिमी आफैं हौं । तिमीबाहेक अरू कोही होइन । मानिसको मनबाट तीन विषलाई निकाल्नुपर्दछ– राग, द्वेष र इष्र्या) ।

नेपालमा गाँस, वास, कपासकै समस्या छ । शिक्षा त परको कुरा । बौद्ध शिक्षा दु्रत गतिमा गएको छैन । बौद्ध शिक्षालाई डायमन्ड शिक्षा देख्छन् उनी । योबिनाको शिक्षा अपूर्ण हुने उनको भनाइ छ । सुनाउँछन्, ‘तिर्खा जसलाई लागेको छ पानी खोज्दै त उही नै अगाडि जानुपर्दछ । पानी खोज्दै त आउँदैन । यसो भन्दैमा भौतिक जीवनलाई पूर्णतया नकारेर आध्यात्मिक यात्रा सम्भव छैन । दुइटै जीवनको ब्यालेन्समा लैजानु आवश्यक छ । भौतिक जीवन त्याग्ने नभई भौतिक वस्तुप्रतिको मोह त्याग्नुचाहिँ मुख्य कुरा हो । धम्मबाट धर्म बनेको हो धर्म भनेको एउटा स्वभाव हो । जस्तै : आगोको धर्म पोल्नु हो । पानीको धर्म चिस्साउनु हो । धर्म भनेको प्रकृति वा स्वभाव हो तर हामी कहाँ गलत व्याख्या भइरहेको छ, यसलाई चिर्नु आवश्यक छ ।’

अहिलेका अभिभावकहरूले आफ्ना सन्तानको औपचारिक शिक्षा दीक्षामै धेरै लगानी गर्छन् । हरेक बाबुआमाको चाहना हुन्छ सन्तान डाक्टर, पाइलट, इन्जिनियर बनाउने । तर भिक्षु बनाउन कमैले चाहन्छन् । बौद्ध दर्शन अध्ययन गरिरहेका यी व्यक्ति हेर्दा यस्तो लाग्छ संसारलाई हिंसामुक्त बनाउनका लागि र आनन्दको सागर आफैंभित्र भेट्टाउनका लागि बौद्ध दर्शनको अध्ययन अपरिहार्य छ ।

 

 

Featured News

Advertisement