वाग्मती प्रदेश सरकारको ६५ प्रतिशत रकम खर्च –
वाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७÷७८ मा कूल बजेटको ६५ प्रतिशत रकम खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय हेटौँडाका अनुसार सो आर्थिक वर्षमा कूल बजेटमध्ये ३५ प्रतिशत बजेट खर्च भएको छैन । आव २०७७÷७८ मा विनियोजित बजेट रु ५१ अर्ब ४२ करोड ७४ लाख ४४ हजारमा जम्मा रु ३३ अर्ब ५० करोड ४१ लाख १४ हजार १६६ रकम खर्च भएको कार्यालयका लेखा अधिकृत राजेन्द्र पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार स्थापना पश्चात सबैभन्दा बढी गत आवमा प्रदेश सरकारको कूल ६५ प्रतिशत रकम खर्च गर्न सफल भएको हो । प्रदेश सरकारले आव २०७४÷७५ मा पहिलो पटक बजेट विनियोजन गरेकामा जम्मा २६.४१ प्रतिशत मात्र खर्च गरेको थियो । त्यसैगरी आव २०७५÷७६ मा ६०.७ प्रतिशत खर्च गरिएको थियो भने आव २०७६÷७७ मा ५९ प्रतिशत रकम खर्च गरिएको थियो । गत आव २०७७÷७८ मा विनियोजित रकमको सबैभन्दा धेरै प्रतिशत खर्च गर्ने कार्यालयतर्फ स्थानीय तह रहेका छन् । विनियोजित रकमको सबैभन्दा कम खर्च गर्ने कार्यालयतर्फ मुख्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छ । प्रदेश सरकारले १३ निकाय र विविध गरी १४ निकायमा विभाजित बजेटको कूल विनियोजितमध्ये प्रदेश व्यवस्थापिका विनियोजित रकम रु ३१ करोड ९५ लाख २३ हजारमध्ये २० करोड २९ लाख ५२ हजार ९०४ खर्च भएको छ । यो जम्मा रकमको ६३.५२ प्रतिशत हो । त्यसैगरी प्रदेश लोक सेवाअन्तर्गत रु सात करोड ७८ लाख ५२ हजारमध्ये रु चार करोड ८७ लाख ९० हजार ३८६ खर्च भएको छ । यो कूल बजेटको ६२.६७ प्रतिशत हो । त्यसैगरी मुख्य न्यााधिवक्ताको कार्यालयअन्तर्गत रु एक करोड ७५ लाखमध्ये रु ९२ लाख ४१ हजार ८२९ खर्च भएको छ । यो कूल बजेटको ५२.८१ प्रतिशत हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रु ७७ करोड ३० लाख ४१ हजार रकम विनियोजन भएकामा उक्त मन्त्रालयले रु २३ करोड २६ लाख ३६ हजार ७९९ मात्र खर्च भएको जनाइएको छ । त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले कूल विनियोजित बजेट रु १६ करोड २० लाख दुई हजारमध्ये रु छ करोड ४५ लाख ६३ हजार १२९ मात्र खर्च गरेको छ । यो कूल बजेटको ३९.८५ प्रतिशत हो । RSS
.jpg)







