बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन



सोमबार ३ , जेष्ठ २०७८

वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ । गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताउनुभयो । उहाँले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिनुभयो । “हामी विकास निर्माणका काममा तल्लीन छौँ, तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ”, पौडेलले भन्नुभयो । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उहाँको भनाइ थियो । उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताउनुभयो । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र विकासप्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा मुकुन्द पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बराल लगायतको सहभागिता थियो ।

Featured News

Advertisement