सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पार्टीका महाधिवेशन प्रतिनिधि उहाँको काठमाडौंँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले शोक वक्तव्यमार्फत उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका–. ११ निवासी गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै कांग्रेसले उहाँको निधनबाट पार्टीले होनाहार व्यक्तित्वलाई गुमाएको जनाएको छ ।







