शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

आगामी जेठ १३ र २६ गतेबाट सुरू हुन लागेकाे सईई र कक्षा १२ को परीक्षा स्थगित



सोमबार २७ , बैशाख २०७८

आगामी जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । काभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यहीँ अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशित गरी जानकारी गराइने उहाँले बताउनुभयो । कोरोना महामारीबीचमा एसईईका लागि देशभरका दुई हजार १९ परीक्षा केन्द्रमा परीक्षा दिने तयारीमा रहेका पाँच लाख १७ हजार विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सक्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको बताइएको छ । बोर्डका अनुसार बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी कोरोनाको सङ्क्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभए के कसरी परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा मोडालिटी तयार गर्ने बताइएको छ । गतवर्ष पनि कोरोना भाइरसको महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष अब कसरी हुन्छ भन्ने निर्णय हुन बाँकी रहेको छ । यस वर्षको एसईई परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइको काम सम्पन्न भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । त्यस्तै जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा पनि कहिले हुन्छ भन्ने निर्णय हुन बाँकी रहेको छ । कक्षा १२ मा करिब चार लाख परीक्षार्थीको सहभागिता हुने छ । बोर्डले यसवर्ष कक्षा १२ को परीक्षाका लागि अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी गरेको थियो । गत वर्ष पनि कोरोना महामारीबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

Featured News

Advertisement